लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, आन्तरिक उत्पादनले नै धान्ने
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। प्राधिकरणका अनुसार उक्त माग पूरा गर्न आवश्यक विद्युत् आन्तरिक उत्पादनबाटै उपलब्ध हुनेछ।
हाल नेपालमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। यसअनुसार लक्ष्मीपूजाको दिन अनुमानित मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उपलब्ध हुने देखिएको छ। पर्याप्त आन्तरिक उत्पादन रहेकाले यस वर्ष तिहारमा विद्युत् अभाव नहुने प्राधिकरणको विश्वास छ।
प्राधिकरणले लक्ष्मीपूजासहित तिहारका सबै दिनमा विद्युत् आपूर्ति सहज, नियमित र भरपर्दो बनाउने जनाएको छ। तिहारसँगै नजिकिँदै गरेको छठ पर्वलाई समेत ध्यानमा राखेर विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्न विशेष तयारी गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले पर्वका समयमा विद्युत् आपूर्ति नियमित राख्न आवश्यक निर्देशन दिइसकेको छ।
विद्युत् प्रणालीमा कुनै प्राविधिक समस्या आए तत्काल समाधान गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाउने र सेवाका लागि आउने फोन नियमित उठाउने व्यवस्था पनि मिलाइएको छ।
यसैबीच, प्राधिकरणले तिहारका बेला विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका तार, उपकरण तथा अन्य विद्युतीय सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन सामग्री प्रयोग नगर्न प्राधिकरणले सुझाव दिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्