पशु कल्याणका लागि छुट्टै कानून ल्याउने तयारीमा सरकार, विधेयकको मस्यौदामाथि सुझाव संकलन
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले छुट्टै पशु कल्याण विधेयक ल्याउने तयारी गरिरहेको बताएकी छन्।
आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पशु अधिकार र कल्याणलाई कानुनी रूपमा थप व्यवस्थित बनाउन विधेयकको मस्यौदा तयार पारिएको र सरोकारवालासँग सुझाव संकलन भइरहेको जानकारी दिएकी हुन्।
उनका अनुसार २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि विधेयक निर्माणको प्रक्रिया अघि बढाइएको हो। लामो समयदेखि पशु अधिकारका क्षेत्रमा छुट्टै कानुनको माग हुँदै आएको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको बताइन्।
मन्त्री चौधरीले नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ र पशु कल्याण निर्देशिका, २०७३ मा समेत पशुपन्छीको संरक्षण तथा उनीहरूमाथि हुने निर्दयी व्यवहार नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्था रहेको स्पष्ट पारिन्।
पशु कल्याण निर्देशिकाले पशु ढुवानीका क्रममा हुने क्रूरता निषेध गरेको छ। त्यस्तै, कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्रै काममा लगाउन र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था पनि गरेको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘नेपालको संविधान, मुलुकी अपराध संहिता २०७४ र पशु कल्याण निर्देशिका २०७३ ले पशु संरक्षण तथा क्रूरताविरुद्ध कानुनी व्यवस्था गरेका छन्। साथै, २०७८ मा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि पशु कल्याण विधेयकको मस्यौदा अघि बढाइएको छ।’
सरकारले स्थापना गरेको राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालयमार्फत पशु कल्याणसम्बन्धी गतिविधिलाई व्यवस्थित बनाउने तथा आवश्यक प्राविधिक मार्गनिर्देशन प्रकाशन गर्ने काम भइरहेको पनि मन्त्री चौधरीले बताइन्।
पशुपन्छीमाथि हुने दुर्व्यवहार र क्रूरता अन्त्य गर्न कानुनी संरचना निर्माणसँगै विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।
यसैबीच, मन्त्री चौधरीले विसं १९८४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै नेपालमा पशु संरक्षणको अभ्यास लामो समयदेखि हुँदै आएको उल्लेख गरिन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्