देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, उपचारका क्रममा अस्पतालमै तोडियो श्वास

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको ज्यान गएको छ।

आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक २४ वर्षीय लोकेश भण्डारी गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै उद्धार गरिएका भण्डारीलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिएका छन्।

मृतक भण्डारी डडेलधुराको अजयमेरु गाउँपालिका–१ का स्थानीय रहेको खुलेको छ। उनी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा प्रहरी जवानका रूपमा कार्यरत थिए।

दुर्घटनामा संलग्न लु ३ त ३६३३ नम्बरको ट्र्याक्टर र त्यसका चालक कावासोती नगरपालिका–१३ निवासी ३२ वर्षीय लोकबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।