दरबारमार्गको लिक्विड लाउन्ज बारमा भीषण आगलागी, दमकलको सहायताले आगो नियन्त्रणमा

काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान भएको आगलागी दमकल र सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा अचानक आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिन थालेपछि नियन्त्रणमा लिन दमकल परिचालन गरिएको थियो। आगलागी नियन्त्रणमा लिने क्रममा बारका केही संरचनासमेत भत्काउनुपरेको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। यद्यपि, आगलागीका कारण लाउन्ज बारमा भएको भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने काम भइरहेको छ।

आगलागी हुनुको वास्तविक कारण भने खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

व्यस्त व्यापारिक क्षेत्र दरबारमार्गमा रहेको लाउन्ज बारमा आगलागी भएपछि केही समय त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक हुने जनाएको छ।