दैलेखमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते, एकको अवस्था गम्भीर
दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा चन्द्रबहादुर पुन मगरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये बीमा मगरको अवस्था गम्भीर रहेको छ। घटनापछि चारै जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो। गम्भीर घाइते बीमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ।
अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक हरिजनले जानकारी दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्