म्याग्दीका भेडीगोठका भरपर्दा पहरेदार बन्दै भोटे कुकुर, जङ्गली जनावरबाट पशुधन जोगाउन गोठालालाई ठूलो साथ
म्याग्दीका विकट पहाडी तथा हिमाली क्षेत्रमा भेडाबाख्रा पालन गर्ने किसानका लागि भोटे कुकुर केवल घरपालुवा जनावरमा सीमित छैनन्। घना जङ्गल, अग्ला पहाड र कठिन भूगोलमा रहेका घुम्ती गोठमा पशुधनको सुरक्षा गर्नेदेखि गोठालालाई साथ दिनेसम्मका काममा यी कुकुर भरपर्दा सहयोगी बनेका छन्।
धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याल यसको उदाहरण हुन्। संयुक्त अरब इमिरेट्स (युएई) मा २० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका उनले आफ्नो फार्ममा रहेका करिब ६०० भेडाबाख्राको सुरक्षाका लागि पाँच वटा भोटे कुकुर पालेका छन्।
उनका अनुसार सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको रेखदेख गर्न तथा जङ्गली जनावरको आक्रमणबाट जोगाउन कुकुरले महत्त्वपूर्ण भूमिका खेल्छन्। विकट क्षेत्रमा महिनौँसम्म गोठमा बसेर पशुपालन गर्दा कुकुर गोठालाका साथी र सुरक्षाकर्मी दुवै बन्ने गरेका छन्।
धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जा पनि घुम्ती गोठमा कुकुरको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउँछन्। सहरबजारमा रहर र सुरक्षाका लागि कुकुर पाल्ने गरिए पनि हिमाली तथा पहाडी भेगका किसानका लागि पशुधन जोगाउन कुकुर पाल्नु आवश्यकता नै बनेको उनको भनाइ छ।
यहाँका गोठालाले अग्लो शरीर, बलियो बनावट र ३० किलोग्रामभन्दा बढी तौल भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गरेका छन्। ती कुकुरले जङ्गली जनावरको चाल, गन्ध र गतिविधि छिट्टै थाहा पाउने भएकाले गोठालालाई सम्भावित खतराबारे सचेत गराउँछन्। भोटे कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको पुर्जा बताउँछन्।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेडापालन गर्दै आएका छन्। उनको अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको हेरचाह गर्नु गोठालाका लागि निकै कठिन हुन्छ। चितुवा, ब्वाँसो, भालु र स्यालजस्ता जङ्गली जनावरको जोखिम रहने क्षेत्रमा कुकुरले गोठको पहरेदारका रूपमा काम गर्ने गरेका छन्।
विशेषगरी साँझ, राति र बिहान गोठ वरपर पहरा दिने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई खबर गर्छन्। आवश्यक पर्दा जङ्गली जनावरलाई लखेटेर पशुधनको सुरक्षा गर्नसमेत सघाउँछन्।
कुकुरको उपयोगिता पशुधनको सुरक्षामा मात्रै सीमित छैन। टाढा पुगेका भेडाबाख्रा फर्काउन, हराएका पशु खोज्न र बथानलाई एकै ठाउँमा राख्न पनि कुकुरले सहयोग गर्ने गरेको पाउद्वारका किसान टेकजित तिलिजा बताउँछन्।
त्यस्तै, किसान मनिराम पाइजाका अनुसार पशु चराउन लैजाँदा कुकुर बथानसँगै हिँड्छन्। अप्ठ्यारा भीरमा पशुलाई जानबाट रोक्ने, साँझ परेपछि गोठमा फर्काउने र जङ्गली जनावरको गतिविधिबारे सङ्केत दिने उनीहरूको विशेषता रहेको छ।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेडाको दूध र मासु खुवाउने गरिन्छ। भेडाबाख्रा चराउनका लागि किसानले एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने गर्छन्। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही घुम्ती जीवनशैलीमा अभ्यस्त भएका हुन्छन्।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा रहेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन्। लेकमा पोषिलो घाँस खाएर मोटाएका भेडाबाख्रा लिएर गोठाला आवश्यक बन्दोबस्तीका सामानसहित तल झर्ने गर्छन्। बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा पनि म्याग्दीमा अझै कायम छ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङका साथै रघुगङ्गा गाउँपालिकाका विभिन्न बस्तीमा किसानले परम्परागत घुम्ती गोठ प्रणालीमार्फत पशुपालन गर्दै आएका छन्। अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यस पेसामा आबद्ध छन्।
आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र अन्य अवसरका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ। तर, कठिन भूगोल र निर्जन जङ्गलमा पशुधनको सुरक्षा गर्ने भोटे कुकुर भने अझै गोठालाका अभिन्न साथी बनेका छन्।
उकाली–ओरालीको कठिन यात्रा होस् वा जङ्गली जनावरको जोखिम, गोठालासँगै हरेक परिस्थितिमा साथ दिने भोटे कुकुरले म्याग्दीको परम्परागत पशुपालन संस्कृति जोगाउनसमेत महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्