भन्सार छलेर भित्र्याइएको २५ लाखभन्दा बढीको भारतीय फूल झापामा बरामद गरी नष्ट

झापाको भद्रपुरबाट अवैध रूपमा नेपाल भित्र्याइएको २५ लाख ६३ हजार रुपैयाँभन्दा बढी मूल्यको भारतीय फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार (कार्तिक २२ गते) मध्याह्न १२ बजे भद्रपुर नगरपालिका–८ स्थित देवीबस्ती क्षेत्रबाट उक्त फूल नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले भन्सार छलेर ल्याइएको फूल बरामद गरेको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद फूलमध्ये २२ लाख ६८ हजार ४ सय रुपैयाँ मूल्य पर्ने ११ हजार ३ सय ४२ थान भारतीय सयपत्री फूलका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला भारतीय कमलका फूल रहेका छन्।

बरामद गरिएको कुल २५ लाख ६३ हजार ४ सय रुपैयाँ मूल्य बराबरको फूल स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ।