इजरायलले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा आफ्ना विशेष सैन्य तथा गुप्तचर इकाइहरूलाई अजरबैजानमा तैनाथ गरेको खुलासा भएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले चार जना स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टमा यस्तो दाबी गरिएको हो।
रिपोर्टअनुसार इजरायलले पश्चिम एसियाभर फैलिएको आफ्नो गोप्य सैन्य सञ्जालमार्फत अजरबैजानमा उपस्थिति कायम राखेको थियो। उक्त सञ्जालको मुख्य उद्देश्य इरानविरुद्ध सञ्चालन गरिएका सैन्य अभियानलाई सहयोग पुर्याउनु रहेको बताइएको छ।
स्रोतहरूका अनुसार इजरायली विशेष कमान्डो र गुप्तचर टोलीहरू अजरबैजानको दक्षिणी क्षेत्रमा सक्रिय थिए। यी स्थानहरू इरानको उत्तरी सीमासँग जोडिएका छन् र केही क्षेत्र इरानको तब्रिज सहरबाट करिब ६० माइलको दूरीमा रहेको बताइएको छ। युद्धका क्रममा इजरायलले तब्रिज क्षेत्रमा आक्रमणसमेत गरेको थियो।
रिपोर्टमा उल्लेख भएअनुसार विशेष सैन्य इकाइहरूले त्यहाँबाट ड्रोन सञ्चालन गर्नुका साथै इरानी सैन्य गतिविधिबारे संवेदनशील गुप्तचर सूचना सङ्कलन गरेका थिए। यसले इजरायललाई इरानको उत्तरी भागमा प्रत्यक्ष निगरानी गर्न सक्षम बनाएको बताइएको छ।
सीएनएनका स्रोतहरूले अजरबैजान मात्र नभई इराक, संयुक्त अरब इमिरेट्स (यूएई) र सोमालिल्यान्डमा पनि यस्तै गोप्य सैन्य संरचना रहेको दाबी गरेका छन्। प्रारम्भिक रूपमा उद्धार तथा आपत्कालीन सहायता कार्यका लागि योजना बनाइएका यी संरचनाहरू पछि सैन्य तथा गुप्तचर गतिविधिको केन्द्रमा परिणत भएको रिपोर्टमा उल्लेख छ।
स्रोतहरूका अनुसार इजरायलले इरानलाई दक्षिण, पश्चिम र उत्तर तीनैतर्फबाट निगरानी तथा दबाबमा राख्न यी संरचनाहरू प्रयोग गरेको थियो। अजरबैजानस्थित अपरेशनमा इजरायलका विशेष अपरेशन फोर्स, एलिट हेलिबोर्न कम्ब्याट एन्ड रेस्क्यु फोर्स तथा गुप्तचर संस्था मोसादका सदस्यहरू समेत संलग्न रहेको बताइएको छ।
यद्यपि अजरबैजानले भने यी आरोप अस्वीकार गरेको छ। वासिङ्टनस्थित अजरबैजानी दूतावासका प्रवक्ताले आफ्नो देशको भूभाग तेस्रो मुलुकविरुद्ध सैन्य कारबाहीका लागि प्रयोग भएको भन्ने दाबीलाई “निराधार” बताएका छन्।
रिपोर्टमा सोमालिल्यान्डले पनि इजरायललाई लामो दूरीका सैन्य उडानका लागि रणनीतिक सुविधा उपलब्ध गराएको उल्लेख छ। त्यस्तै इराकमा दुईवटा गोप्य सैन्य सुविधा सञ्चालन गरिएको र यूएईमा आइरन डोम हवाई रक्षा प्रणाली तैनाथ गरिएको दाबी गरिएको छ। सम्बन्धित देशहरूले भने यस्ता दाबीहरू अस्वीकार गरेका छन् वा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
सीएनएनका अनुसार इजरायलले युद्ध सुरु हुनुभन्दा केही साताअघि नै अजरबैजान–इरान सीमाक्षेत्रमा निगरानी तथा गुप्तचर उपकरण जडान गर्न थालेको थियो। यी उपकरणहरूले इरानी सैन्य गतिविधि, मिसाइल प्रक्षेपण तयारी तथा सुरक्षा संरचनाबारे सूचना सङ्कलन गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
रिपोर्टले इजरायल र अजरबैजानबीचको सम्बन्धलाई दीर्घकालीन रणनीतिक साझेदारीका रूपमा चित्रण गरेको छ। अजरबैजान इजरायलका लागि महत्वपूर्ण तेल आपूर्तिकर्ता हो भने इजरायलले अजरबैजानलाई आधुनिक हतियार तथा रक्षा प्रविधि उपलब्ध गराउँदै आएको छ।
यस घटनाले इरान–इजरायल तनावमा क्षेत्रीय मुलुकहरूको भूमिकाबारे नयाँ बहस सुरु गराएको छ। यद्यपि रिपोर्टमा गरिएका धेरै दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्