अमेरिकाले आफ्ना नागरिकहरूका लागि इबोला क्वारेन्टिन केन्द्र स्थापना गर्न चाहेको केन्याको मध्यभागस्थित नान्युकी सहरका बासिन्दाहरूले उक्त योजनाको कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार यसले आफूहरूलाई इबोला भाइरसको जोखिममा पार्न सक्छ र यो अमेरिकाको दोहोरो मापदण्डको उदाहरण हो।

प्रस्तावित केन्द्र राजधानी नैरोबीबाट करिब १२० माइल टाढा नान्युकीस्थित लाइकिपिया एयर बेस नजिक रहने योजना छ। स्थानीय ट्याक्सी चालक चाल्र्स माथेङ्गेले भने, “सबैलाई आफ्नै देशमा क्वारेन्टिन गरिनु पर्छ। विदेशीहरूले रोग ल्याएर हामीमाथि थोपर्नु हुँदैन।”

पछिल्ला केही दिनयता देशभर यस विषयमा आक्रोश बढ्दो छ। सोमबार नान्युकीमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो। स्थानीय डेभिड मुलिङ्गेले भने, “अमेरिकीहरूले आफ्ना संक्रमित नागरिकलाई आफ्नै देशमा राख्न चाहँदैनन्, तर केन्या पठाउन चाहन्छन्। यसले हामीलाई कम दर्जाको मानिस ठानेको जस्तो देखिन्छ।”

हाल डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगाण्डामा स्वास्थ्य अधिकारीहरू इबोला प्रकोप नियन्त्रण गर्न संघर्षरत छन्। विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई दुर्लभ बुण्डिबुग्यो भाइरसका कारण फैलिएको अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ, जसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन।

WHO का अनुसार हालसम्म डिआरसीमा ६० जनाको मृत्यु र ३४४ संक्रमित पुष्टि भएका छन् भने युगाण्डामा पनि संक्रमण देखिएको छ। केन्यामा भने अहिलेसम्म कुनै केस पुष्टि भएको छैन।

अमेरिकी सरकारले नान्युकीमा ३० जना स्वास्थ्यकर्मी पठाउने र ५० शैयाको क्वारेन्टिन केन्द्र सञ्चालन गर्ने योजना बनाएको छ। यसअघि अमेरिका आफ्ना संक्रमित नागरिकलाई स्वदेश फर्काएर उपचार गर्ने गरेको थियो।

यस प्रस्तावले केन्यामा व्यापक विरोध जन्माएको छ। केन्या मेडिकल प्राक्टिसनर्स युनियनका डा. दाभ्जी अतेल्लाहले भने, “केन्यालाई रोग नियन्त्रण उपनिवेश जस्तो व्यवहार गरिएको हामी स्वीकार गर्न सक्दैनौँ।”

कबिता इन्स्टिच्युटले दायर गरेको मुद्दापछि नैरोबी उच्च अदालतले केन्द्र स्थापना प्रक्रिया अस्थायी रूपमा रोकिदिएको छ। अमेरिका र केन्या सरकारबीच छलफल जारी रहेको बताइएको छ।