२०८३ साल जेठ २२ गते शुक्रबार, अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि तथा सन् २०२६ जुन ५ तारिख विश्व वातावरण दिवसको अवसरमा हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा शुक्र ग्रहसँग सम्बन्धित पूजा–आराधना गर्दछन्।

धार्मिक मान्यता अनुसार यस दिन सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा गर्ने परम्परा रहेको छ। साथै, शुक्र ग्रहसँग सम्बन्धित दोष निवारण र आर्थिक समृद्धिका लागि व्रत बस्ने प्रचलन पनि छ।

धर्मशास्त्रअनुसार शुक्रबार विधिपूर्वक लक्ष्मी माताको व्रत बस्दा जीवनमा आर्थिक स्थायित्व र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। यस दिन व्रत बस्ने व्यक्तिले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उपयुक्त मानिन्छ भने अमिलो खानेकुरा वर्जित मानिन्छ।

त्यस्तै, सेतो कपडा लगाउने, घरमा खीर बनाएर गरिब तथा असहायलाई दान गर्ने परम्पराले घरमा धन–धान्य वृद्धि हुने धार्मिक विश्वास रहेको छ।

शुक्रबार सन्तोषी माताको व्रत गर्ने पुरुष तथा महिलाले सुख, शान्ति र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यस दिन लक्ष्मीका विभिन्न स्वरूपको पूजा गर्दा घरमा समृद्धि आउने जनविश्वास छ।

शुक्र ग्रह कमजोर भएका व्यक्तिहरूले शान्तिका लागि सेतो घोडा दान गर्ने, साथै सेतो रंगका वस्त्र, चिनी, सुगन्ध, खाद्य तेल, चन्दन र कपुर दान गर्नुपर्ने धार्मिक मान्यता छ। यसले शुक्र ग्रहसँग सम्बन्धित दोष कम गर्न मद्दत गर्ने विश्वास गरिन्छ।

धार्मिक शास्त्रअनुसार शुक्र ग्रहसँग सम्बन्धित रत्न दान वा प्रयोगले पनि लाभ मिल्ने मानिन्छ। शुक्र ग्रहको दशाबाट प्रभावित व्यक्तिहरूले शुक्रबार व्रत बस्दा सकारात्मक परिणाम प्राप्त हुने विश्वास गरिएको छ।