प्रतिनिधि सभा सदस्य आशिका तामाङ र धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबीच विवाद भएको छ।
थाक्रे गाउँपालिका–७ मा रहेको ढुंगाखानीमा ढुंगा खसेर चालक दीपेन्द्र खत्रीको मृत्यु भएपछि मृतकको घरमा पुगेका उनीहरूबीच भनाभन भएको हो।
सांसद तामाङले ढुंगाखानी सञ्चालन रोक्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको आरोप लगाउँदै गाउँपालिका नेतृत्वमाथि आक्रोश व्यक्त गरेकी थिइन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनले अध्यक्ष आचार्यलाई “तपाईँहरूकै कारण दीपेन्द्रको मृत्यु भएको” भन्दै कडा शब्दमा हप्काएको देखिन्छ।
तामाङले प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक खानी बन्द गराउन आग्रह गरेको दाबी गर्दै गाउँपालिका नेतृत्वले आफूलाई बेवास्ता गरेको आरोपसमेत लगाएकी छन्।
उनले मृतक परिवारसँग माफी माग्न अध्यक्ष आचार्यलाई दबाब दिएको दृश्य पनि भिडिओमा देखिन्छ।
यता गाउँपालिका अध्यक्ष आचार्यले भने घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। उनले गाउँपालिकाले उक्त खानी सञ्चालनका लागि कुनै स्वीकृति नदिएको स्पष्ट पारेका छन्।
विवाद चर्किएपछि अध्यक्ष आचार्य मृतकको घरबाट बाहिरिएका थिए। त्यस क्रममा सांसद तामाङले स्थानीय बासिन्दालाई “समातेर राख्नोस्” भन्दै आग्रह गरेको दृश्यसमेत सार्वजनिक भएको छ।
थाक्रे गाउँपालिका–७ राम्चेमा रहेको बज्रकाली ढुंगा रोडा उद्योगमा ढुंगा लोड गर्ने क्रममा ट्रिपरमाथि ढुंगा खस्दा २७ वर्षीय चालक दीपेन्द्र खत्रीको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो। शनिबार बिहान मृतक परिवारलाई भेट्न पुगेका बेला उक्त विवाद भएको हो।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्