नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको बैठकको निरन्तरता स्वरूप दोस्रो दिन पनि छलफल भइरहेको हो।
शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि नौ जना सचिवहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।
शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए।
तर उपाध्यक्षहरूको सुझाव स्वीकार्नुको साटो ओलीले पुनर्गठनको माग गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने संकेत गरेपछि बैठक तनावपूर्ण बनेको थियो। त्यस क्रममा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा अन्य उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङबीच नोकझोक समेत भएको बताइएको छ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटीको निर्णयअनुसार अघि बढ्न सकिने संकेत गरे पनि आफू बहुमतमा रहेको विश्वास व्यक्त गरेका छन्।
शनिबारको बैठकमा पनि केही पदाधिकारीहरूले ओलीको राजीनामा माग्ने तयारी गरेको एक नेताले बताएका छन्।
एक सचिवालय सदस्यले भने, “अब ओलीबाट पार्टी चल्दैन भन्ने अवस्था जस्तै बनेको छ। यस्तो अवस्थामा उहाँले मार्ग प्रशस्त गरेर पार्टीलाई नयाँ दिशातर्फ लैजानुपर्छ भन्ने मत बलियो हुँदै गएको छ।”
उनका अनुसार बैठकमा ओलीको विकल्पबारे पनि खुला रूपमा छलफल हुने सम्भावना छ।
चार जना उपाध्यक्ष ओलीको विपक्षमा उभिएसँगै अन्य नेताहरू पनि त्यस दिशामा जाने अनुमान गरिएको छ। १९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र दृढ रूपमा देखिएको बताइन्छ।
बदलिँदो परिस्थितिमा केही नेताहरू खुलेर नबोले पनि ओलीलाई साथ दिने पक्ष कमजोर हुँदै गएको विश्लेषण छ।
पछिल्लो समयमा महासचिव शंकर पोखरेल र विष्णु पौडेल पनि विकल्पतर्फ उभिएको चर्चा छ। त्यस्तै उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ तथा सचिवहरू हिक्मत ढकाल, शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र यमलाल कँडेल पनि त्यस समूहमा उभिने सम्भावना रहेको बताइएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्