राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ। जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा लफडा भएको हो।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गर्दै चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

विवादको सुरुवात बारा जिल्लाका चारै जना सांसदहरूले पूर्वसंयोजक स्वर्णकारलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेपछि भएको हो। उनीहरूले चुनावका बेला स्वर्णकारले सहयोग नगरेको आरोप लगाएका थिए।

सोही सिफारिसका आधारमा स्वर्णकार निलम्बनमा परेपछि पार्टीका पुराना कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए। शनिबार कलैयामा आयोजित बैठकमा यही विषयलाई लिएर पुराना पक्षका कार्यकर्ताहरूले सांसदहरूको विरोध गर्दै बैठक स्थलमै अवरोध सिर्जना गरेका थिए।

स्थानीय नेताहरूका अनुसार पार्टीभित्र अन्य दलबाट आएका सांसद र पुराना कार्यकर्ताबीच दूरी बढ्दै गएको छ। पुराना कार्यकर्ताहरूले आफूहरूलाई उपेक्षा गरिएको गुनासो पनि व्यक्त गरेका छन्।

असन्तुष्ट कार्यकर्ताहरूको विरोधपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले चारै जना सांसदहरूलाई बैठक स्थलबाट निकालेर स्थानीय होटलमा सुरक्षित रूपमा पुर्‍याएको हो।

यस घटनाबारे पार्टीको केन्द्रीय नेतृत्वले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयबारे जेठ ६ गते औपचारिक रूपमा जानकारी गराइएको थियो।

स्वर्णकारले भने सामाजिक सञ्जालमार्फत आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका थिए।