विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा हरेक वर्ष आफ्नो उपस्थिति र शैलीका कारण चर्चामा रहने बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन यसपटक भने फरक कारणले सामाजिक सञ्जालमा चर्चामा आएकी छिन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो र पोस्टमा रेड कार्पेटमा हिँडिरहेकी ऐश्वर्या रायलाई अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले बेवास्ता गरेको दाबी गरिएको छ।
उक्त भिडियोमा केही फोटोग्राफरहरू ऐश्वर्यालाई फोटो खिच्न नबोलाएको वा अन्यतर्फ ध्यान दिएको जस्तो देखिएको भन्दै विभिन्न टिप्पणीहरू भइरहेका छन्। यसपछि उनको अन्तर्राष्ट्रिय लोकप्रियता घटेको दाबीसमेत केही प्रयोगकर्ताहरूले गरेका छन्।
तर ऐश्वर्याका समर्थकहरूले भने यी दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनीहरूका अनुसार यो नियोजित रूपमा फैलाइएको नकारात्मक प्रचार मात्र हो।
फ्यानहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ऐश्वर्या विगत दुई दशकदेखि कान्स फिल्म फेस्टिभलको प्रमुख आकर्षण रहँदै आएको र उनलाई बेवास्ता गर्न नसकिने बताएका छन्।
कतिपय समर्थकहरूले अन्य भिडियोहरू पनि सार्वजनिक गर्दै फोटोग्राफरहरूले उनलाई “ऐश–ऐश” भनेर बोलाएको र उनको तस्बिर लिन भीड लागेको देखिएको दाबी गरेका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्