अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सकारात्मक संकेतहरू बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ।

मुख्य मुद्दाहरूमा अझै मतभेद कायम रहे पनि दुवै देशबीचको सकारात्मक वार्ताले बजारमा उत्साह घटाएको देखिएको छ। विशेषगरी होर्मुज जलमार्गमा जारी अवरोधका कारण प्रभावित आपूर्ति पुनः सहज हुने अपेक्षाले मूल्य घट्न सहयोग गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.७१ डलर अर्थात् ४.५५ प्रतिशतले घटेर ९८.८३ डलरमा झरेको छ।

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि प्रतिब्यारेल ४.५७ डलर अर्थात् ४.७३ प्रतिशतले घट्दै ९२.०३ डलर कायम भएको छ।

दुवै प्रकारका कच्चा तेलको यो मूल्य गत मे ७ तारिखपछिकै सबैभन्दा न्यून हो।

गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबीच शान्ति सम्झौताको ‘धेरैजसो बुँदामा सहमति’ भएको बताएका थिए।

यो सम्झौता लागू भएमा होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। द्वन्द्व सुरु हुनुअघि विश्वव्यापी तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ठूलो हिस्सा यही मार्ग हुँदै ढुवानी हुने गर्थ्यो।

तर विश्लेषकहरूका अनुसार अझै पनि केही जटिल विषयमा सहमति हुन बाँकी रहेकाले सम्झौतामा ढिलाइ हुन सक्ने जोखिम कायम छ।

एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकले सकारात्मक विकासले अल्पकालीन रूपमा तेलको मूल्यमा राहत दिएको टिप्पणी गरेका छन्।

यद्यपि अन्य विश्लेषकहरूले भने जलमार्ग खुल्दा पनि आपूर्ति पूर्ण रूपमा पुरानै अवस्थामा फर्किन र क्षतिग्रस्त संरचना मर्मत हुन समय लाग्ने बताएका छन्।