निर्माणाधीन एसियन हाइवे झापा खण्डमा क्रसर उद्योगहरूले अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
राजमार्ग निर्माणका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा उत्खननका क्रममा व्यापक अनियमितता र वातावरणीय मापदण्डको उल्लङ्घन भएको स्थानीयको आरोप छ।
स्थानीय बासिन्दाहरूका अनुसार निर्माणको बहानामा खोलाहरूको जथाभावी दोहन भइरहेको छ, जसले बस्ती नै जोखिममा पार्ने अवस्था सिर्जना गरेको छ।
झापा अर्जुनधाराका स्थानीय युवा नितेश ओलीले माई, बिरिङ लगायतका खोलाहरूमा मापदण्डविपरीत उत्खनन भइरहेको दाबी गरेका छन्। उनका अनुसार ठेकेदार कम्पनी र केही क्रसर व्यवसायीहरूले नियमको उल्लङ्घन गरेका छन्।
उनले खोलाको छेउमै क्रसर उद्योग सञ्चालन गरिएको र त्यसले नियमविपरीत काम भएको बताए।
त्यस्तै, विर्तामोड–४ का स्थानीय देव संग्रौलाले राजमार्गसँगै जोडिएका क्रसर उद्योगका कारण जनजीवन प्रभावित भएको बताएका छन्।
उनका अनुसार पुलको १ सय ५० मिटर नजिकै क्रसर उद्योग सञ्चालन हुनु गम्भीर लापरवाही हो।
संग्रौलाले टिपरहरूको अनियन्त्रित आवागमनले दुर्घटनाको जोखिम बढाएको र धेरै दुर्घटना भइसकेको बताए।
तर दमक नगरपालिकाका प्रमुख राम थापाले भने अनुगमनका क्रममा अवैध उत्खनन नभेटिएको दाबी गरेका छन्।
उनका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र स्थानीय तहको संयुक्त टोलीले गरेको अनुगमनमा सबै प्रक्रिया अनुसार काम भएको पाइएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले केही अनियमितता हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए पनि कारबाहीको जिम्मेवारी स्थानीय तहमा रहेको उल्लेख गरेका छन्।
कानुनी रूपमा खोलाको बहाव क्षेत्र र राजमार्ग तथा पुल नजिक उत्खननमा कडाइ गरिए पनि झापामा त्यसको पूर्ण पालना नभएको स्थानीयको दाबी छ।
स्थानीयहरूले विकासका नाममा भइरहेको दोहन रोक्न कडा निगरानी र कानुनी कारबाहीको माग गरेका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्