२१औँ शताब्दीका चुनौती सामना गर्न समाजवाद अपरिहार्य छ : प्रदीप ज्ञवाली
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान विश्वमा देखिएका आर्थिक, सामाजिक र राजनीतिक संकटको समाधानका लागि समाजवाद प्रभावकारी विकल्प बन्न सक्ने बताएका छन्।
साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले पुँजीवादी व्यवस्थाले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भए पनि त्यसको प्रतिफल सीमित धनाढ्य वर्गमा मात्र केन्द्रित भइरहेको बताए। ठूलो जनसंख्या चरम गरिबीमा रहनु, श्रमिकले न्यून ज्याला र रोजगारीको असुरक्षा भोग्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको नियन्त्रणमा पुग्नु पुँजीवादी व्यवस्थाका प्रमुख चुनौती भएको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको आडमा प्रभुत्व जमाउने प्रवृत्तिको सट्टा अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमसत्ता र आपसी संवादलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए। शान्ति कुनै शक्तिशाली राष्ट्रको विशेषाधिकार नभई सबै मुलुकको समान अधिकार भएको ज्ञवालीले उल्लेख गरे।
समाजवादलाई विगतको संघर्ष वा सैद्धान्तिक बहसमा मात्र सीमित गर्न नहुने धारणा राख्दै उनले बदलिँदो विश्व परिवेशअनुसार मार्क्सवादी विचारलाई सिर्जनात्मक ढंगले अघि बढाउनुपर्ने बताए।
कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको विकास मानव हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै ज्ञवालीले प्रविधिमाथि कर्पोरेट क्षेत्रको नियन्त्रण बढ्दै जाँदा रोजगारी गुम्ने र सम्पत्ति केही सीमित वर्गमा थुप्रिने जोखिम रहेको औँल्याए।
नेपालको राजनीतिक अभ्यासबारे चर्चा गर्दै उनले नेकपा एमालेले मार्क्सवाद र जनताको बहुदलीय जनवादलाई देशको विशिष्ट परिस्थितिअनुसार अघि बढाएको बताए। राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गर्ने जबजको अवधारणा लोकतन्त्र र सामाजिक रूपान्तरणको आधार रहेको उनको भनाइ थियो।
ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्तिका रूपमा व्याख्या गर्न नसकिने स्पष्ट पार्दै राजनीतिक परिवर्तन हिंसाबाट नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाबाट हुनुपर्ने धारणा राखे। युवा पुस्ताका आकांक्षा सम्बोधन गर्न संवैधानिक संस्थाहरूलाई थप बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए।
विश्वव्यापी वामपन्थी आन्दोलनबीच शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउँदै ज्ञवालीले प्रभुत्वको सट्टा सार्वभौम समानता र द्वन्द्वको सट्टा सहकार्यमा आधारित बहुध्रुवीय विश्व व्यवस्था निर्माणका लागि साझा प्रयास गर्न आह्वान गरे।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्