परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो। यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण केही प्राविधिक कारणले स्थगित भएको थियो। मन्त्रालयका अनुसार सामान्य तालिका परिवर्तनपछि उनी शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर लगायत भारत सरकारका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

हाल भारत भ्रमणमा रहेका रवि लामिछाने नेतृत्वको टोलीले भारतीय पक्षबाट उच्च महत्व पाएको छ। भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग पनि भेटवार्ता भएको थियो।

यही पृष्ठभूमिमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन शाह) को सम्भावित भारत भ्रमणबारे भारतीय पक्षसँग प्रारम्भिक संवाद हुन सक्नेछ।

त्यसैगरी, नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक तथा कूटनीतिक सहकार्य, सीमा विवादलगायतका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। प्राप्त निष्कर्षका आधारमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने बताइएको छ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ हुन लागेको यो भ्रमणलाई दुवै देशबीचको कूटनीतिक संवादको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।