सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि बेपत्ता भएका पर्यटक गाइड दावा शेर्पा गम्भीर अवस्थामा जीवित फेला परेका छन्।

बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का कामदारहरूले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेका हुन्।

पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाका अनुसार आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका दावा शेर्पा पछिल्लो ६ दिनदेखि बेपत्ता थिए। उनी ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी हुन्।

उनी आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए। उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको भए पनि प्रारम्भिक चरणमा फेला पार्न सकिएको थिएन।

पछि खुम्बु आइसफल क्र्याम्पन पोइन्ट नजिकैबाट उनी घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा भेटिएका थिए। उद्धारपछि उनको अवस्था गम्भीर रहेको बताइएको छ।

उनको हात र खुट्टा हिउँले प्रभावित भएको जनाइएको छ। प्रारम्भिक उपचारपछि उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर थप उपचार गर्ने तयारी भइरहेको छ।

पर्वतारोहण क्षेत्रमा यो घटनालाई ‘चमत्कारपूर्ण बाँच्ने घटना’का रूपमा चर्चा गरिएको छ।