काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह महाधिवेशनको तयारीमा जुटेको छ। सदस्यता नवीकरणलगायतका संगठनात्मक कामलाई अघि बढाउँदै समूहले आफ्ना पक्षका नेताहरूलाई जिल्ला संयोजकको जिम्मेवारीसमेत दिएको छ।

देउवा निकट स्रोतका अनुसार कांग्रेसको नेतृत्व रहेका जिल्लाहरूमा समानान्तर रूपमा आफ्ना पक्षका नेताहरूलाई संयोजक तोकिएको हो।

समूहको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ५५ जिल्लामा संयोजक तोकेर महाधिवेशनसम्बन्धी तयारी अघि बढाएका छन्।

समूहले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तथा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।

महाधिवेशनको तयारीसँगै सदस्यता नवीकरण, जिल्ला तहमा संगठन परिचालन तथा अधिवेशनसम्बन्धी गतिविधिलाई तीव्रता दिइएको समूहका नेताहरूले बताएका छन्।