काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ। यसअघि बुधबार बैठक समापन गर्ने तयारी भए पनि कार्यसूचीप्रति नेताहरूले आपत्ति जनाएपछि केन्द्रीय कमिटी बैठककै बीचमा बुधबार बिहान सचिवालय बैठक बस्ने तय भएको छ।

अब बिहीबार मात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गर्ने विषयमा नेताहरू सहमत भएको बताइएको छ।

एमालेका एक नेताका अनुसार बुधबार बिहान सचिवालय बैठकले जारी केन्द्रीय कमिटी बैठकको कार्यसूची अनुमोदन गर्नेछ। एमालेले यसअघि नै नौवटा कार्यसूची तय गरेको भए पनि त्यसलाई औपचारिक रूपमा अनुमोदन गरिएको थिएन।

सचिवालयबाट कार्यसूची अनुमोदन भएपछि बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक पुनः सञ्चालन गर्ने तयारी छ।

सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि बैठक बसेकाले बोल्न चाहने सबैलाई पर्याप्त समय उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए। उनीहरूले अहिले तय गरिएको समय पर्याप्त नहुने भन्दै अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा राखेका थिए।

यस विषयमा महासचिव शंकर पोखरेलले सोमबारको बैठकलगत्तै अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवास पुगेर जानकारी गराएका थिए।

बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा नेतृत्व परिवर्तन र पुनर्गठनको विषय समावेश गरिएको छैन।

एमालेभित्र गत निर्वाचनपछि पुनर्गठनको बहस चल्दै आएको थियो। विशेष महाधिवेशन र नेतृत्व पुनर्गठनको विषयमा पार्टीभित्र विभिन्न धारणा सार्वजनिक भए पनि हाल जारी बैठकको प्रतिवेदनमा यी विषय समेटिएका छैनन्।