काठमाडौँ– निरन्तर भइरहेको वर्षाका कारण देशभरका नदी तथा खोलामा पानीको बहाब बढ्ने सम्भावना देखिएको छ। बुधबार रातिदेखि भइरहेको वर्षाले नदी तथा खोलामा प्रवाह बढाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल रहेको छ।

तर निरन्तर वर्षा भइरहेकाले यी नदी तथा खोलामा पानीको बहाब क्रमशः बढ्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौँसहित ६५ जिल्ला र आसपासका साना नदी तथा खोलामा समेत बहाब उल्लेख्य रूपमा बढ्न सक्ने तथा त्यसबाट बाढीको जोखिम निम्तिन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षा निरन्तर भइरहेका कारण नदी तथा खोला आसपासका बस्ती, सडक तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।