जनकपुरधाम । मधेश प्रदेशमा युवाहरूको मोटरसाइकलप्रतिको बढ्दो आकर्षण अहिले सडक दुर्घटनाको प्रमुख कारणका रूपमा देखिन थालेको छ। समथर भूभाग, फराकिला तथा चिल्ला सडकमा ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्तिले दैनिकजसो युवाहरू दुर्घटनाको सिकार बन्ने अवस्था सिर्जना गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मधेश प्रदेशमा १९ हजार ७९३ वटा मोटरसाइकल दुर्घटना भएका छन्। यो संख्या अन्य सवारी साधनको तुलनामा निकै बढी हो। मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेमध्ये अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका युवा रहेका छन्।

तथ्यांकअनुसार सोही अवधिमा यात्रुवाहक बस, माइक्रोबस तथा टेम्पोबाट २ हजार ६१८, कार, जीप तथा भ्यानबाट १ हजार ९१२ र अन्य सवारी साधनबाट ३ हजार २९८ दुर्घटना भएका छन्। यी सबै दुर्घटनामा परी हालसम्म १ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने ३२ हजार ८२५ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा संलग्न चालकहरूमध्ये ४० प्रतिशत २५ देखि ४० वर्ष उमेर समूहका छन् भने ३९ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका युवा रहेको तथ्यांकले देखाएको छ। यसले मधेश प्रदेशमा युवाहरू नै सबैभन्दा बढी जोखिममा रहेको संकेत गर्दछ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रदेशमा दुर्घटना बढ्नुका पछाडि अनेकौं कारण छन्। उनका अनुसार हुलाकी राजमार्ग तथा भित्री सडकहरूमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ तर त्यसअनुसार ट्राफिक प्रहरी इकाइ, व्यवस्थापन सामग्री र जनशक्ति पर्याप्त छैन।

“प्रदेशमा हुलाकी र भित्री सडकहरूमा सवारीको चाप निकै बढेको छ। सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरी इकाइहरूको अभाव छ। ट्राफिक व्यवस्थापन सामग्री आवश्यकता अनुसार छैन। जनशक्ति अभाव र सरोकारवाला निकायसँग समन्वयको कमीका कारण दुर्घटना बढ्दै गएका छन्,” बस्नेतले बताए।

हाल मधेश प्रदेशभर ट्राफिक प्रहरीको दरबन्दी ३०२ जनाको भए पनि ५२५ जना कार्यरत छन्। प्रदेशमा १८ वटा दरबन्दी भएका ट्राफिक पोस्ट छन् भने थप ८१ वटा दरबन्दीविहीन ट्राफिक पोस्ट सञ्चालनमा रहेका छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार सवारी साधनको संख्या तीव्र रूपमा बढे पनि सडक पूर्वाधार त्यसअनुसार विस्तार हुन नसक्दा दुर्घटनाको जोखिम बढेको हो।

उनले नेपालमा वार्षिक रूपमा सवारी दर्ता संख्या उल्लेखनीय दरले वृद्धि भइरहे पनि सडक विस्तार, ट्राफिक व्यवस्थापन तथा सुरक्षाका संरचना पर्याप्त विकास हुन नसकेको बताए। नेपाल प्रहरीको कुल जनशक्तिमध्ये ट्राफिक प्रहरीको हिस्सा केवल ३.५ प्रतिशत मात्र रहेकाले दुर्घटना नियन्त्रण र सडक सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

तिवारीका अनुसार चालु आर्थिक वर्षमा सडक विभागसँगको समन्वयमा ट्राफिक उपकरण खरिदका लागि १५ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। त्यसमध्ये मधेश प्रदेशका लागि करिब अढाई करोड रुपैयाँ छुट्याइने भएको छ। यसले सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रहरीले मधेश प्रदेशका ४९ स्थानलाई दुर्घटनाको दृष्टिकोणले ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ। यी क्षेत्रमा विशेष निगरानी, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

राष्ट्रिय स्तरको तथ्यांकले पनि सडक दुर्घटना गम्भीर चुनौती बन्दै गएको देखाउँछ। चालु आर्थिक वर्षको हालसम्म देशभर २५ हजार ८११ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा २ हजार २७५ जनाले ज्यान गुमाएका छन् भने ४० हजार ९६० जना घाइते भएका छन्। औसत रूपमा नेपालमा प्रत्येक दिन ७.५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने तथा १३७ जना घाइते हुने गरेका छन्।

विशेषज्ञहरूले सडक सुरक्षा, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, चालक सचेतना अभिवृद्धि तथा पूर्वाधार सुधार नगरेसम्म दुर्घटनाको दर घटाउन कठिन हुने बताएका छन्। विशेषगरी युवाहरूलाई लक्षित गरेर सुरक्षित सवारी सञ्चालनसम्बन्धी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।