साफ महिला च्याम्पियनसिप २०२६ मा नेपालका लागि उपाधि यात्राको सपना सेमिफाइनलमै टुंगिएको छ। भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न नसक्दा नेपालले हार बेहोर्नुपर्यो। पहिलो हाफमा अग्रता बनाएको नेपालले खेलको अन्तिम समयमा गोल खाँदा फाइनल पुग्ने अवसर गुमाएको हो।
नेपालले खेलको सुरुआती समयदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। दोस्रो मिनेटमै रेखा पौडेलले गोल गर्ने अवसर पाए पनि सफल हुन सकिनन्। त्यसपछि तेस्रो मिनेटमा रश्मि कुमारी घिसिङको प्रहार बंगलादेशी गोलरक्षकले सहजै नियन्त्रण गरेकी थिइन्।
लगातार दबाब बनाइरहेको नेपालले २३औं मिनेटमा अग्रता लिन सफल भयो। दीपा शाहीको कर्नरमा अनमार्क रहेकी गीता राना मगरले उत्कृष्ट हेडमार्फत गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन्।
गोलपछि नेपालले खेलमा पकड कायम राखेको थियो। तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले खेल बराबरीमा ल्यायो। अतिरिक्त समयको पहिलो मिनेटमा रितु पोर्ना चक्माले कर्नरबाटै सिधै आकर्षक गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याइन्।
दोस्रो हाफमा पनि नेपालले गोलका केही राम्रो अवसर सिर्जना गर्यो। ४८औं मिनेटमा रेखा पौडेल पुनः एक्लै गोलरक्षकसँग आमनेसामने भए पनि गोल गर्न असफल भइन्। ५१औं मिनेटमा रश्मि घिसिङको प्रहार पोस्टमाथिबाट बाहिरियो भने ६९औं मिनेटमा सरु लिम्बुको प्रयास पनि लक्ष्यमा परिणत हुन सकेन।
नेपालले खेलभरि बल नियन्त्रण र आक्रमणमा राम्रो प्रदर्शन गरे पनि फिनिसिङ कमजोर हुँदा त्यसको मूल्य चुकाउनुपर्यो। खेल १–१ को बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समय नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो।
नियमित समयपछि थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा बंगलादेशकी युवा खेलाडी सागोरिकाले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाइन्। उक्त गोलसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको फाइनल यात्रा सुनिश्चित गर्यो।
यो हारसँगै नेपालले पुनः एकपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न सकेन। उत्कृष्ट खेल प्रदर्शन गरे पनि अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
अब साविक विजेता बंगलादेशले शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आयोजक भारत र भुटान आमनेसामने हुनेछन्।
नेपालका लागि यो हार निराशाजनक भए पनि टोलीले प्रतियोगिताभर देखाएको प्रदर्शनले भविष्यप्रति आशा जगाएको छ। युवा खेलाडीहरूको उत्साहजनक प्रदर्शनले नेपाली महिला फुटबलको भविष्य अझ उज्यालो देखिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्