गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषद्को समन्वयमा आगामी १५ र १६ अगस्ट २०२६ मा चीनको ग्वाङझाउस्थित क्राउन प्लाजा ग्वाङझाउ सिटी सेन्टरमा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आयोजना हुने भएको छ।
“आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना हुने यो सम्मेलन विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक तथा सामाजिक रूपमा जोड्ने उद्देश्यमा केन्द्रित रहनेछ।
सम्मेलनको संयोजकत्व एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेललाई दिइएको छ।
चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङझाउमा आयोजना हुने यस सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली समुदायलाई नेपालको लगानी तथा पर्यटन अवसरसँग जोड्ने लक्ष्य राखेको छ।
सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (बी–टु–बी नेटवर्किङ), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगका विषयमा विज्ञहरूबीच छलफल हुनेछ। साथै श्रमिक सुरक्षासम्बन्धी नीतिगत विषयमा पनि छलफल हुने जनाइएको छ।
महिला उद्यमशीलता र युवा सहभागितालाई पनि विशेष प्राथमिकतामा राखिएको छ।
सम्मेलनले दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो मौलिक पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयमा विशेष ध्यान दिनेछ। विदेशमा जन्मिएका नेपाली युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र पदयात्रामार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गरिनेछ।
दुई दिने सम्मेलनमा पाँच वटा सत्रमा कार्यपत्र प्रस्तुत गरिनेछ। पहिलो दिन उद्घाटन समारोहमा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।
त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन हुनेछ, जसमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योगबारे छलफल हुनेछ।
दोस्रो दिन पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा छलफल हुने जनाइएको छ।
सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव र कार्ययोजना प्रस्तुत गरिनेछ।
सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा एनआरएनए नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका युवा सहभागी हुनेछन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्