मुक्तिनाथ (मुस्ताङ) । यस वर्ष मुस्ताङबाट १३ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बजार पठाइने भएको छ। यो सङ्ख्या विगतको तुलनामा पाँच हजारले कम हो। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बजार लगिएको थियो।

बाढीपहिरोका कारण देशभर चाडपर्वको रौनक घटेको छ भने मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध छ। हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपात भएपछि गोठबाट भेडाच्याङ्ग्रा बिक्री गर्न समस्या भएकाले पनि बिक्री घटेको हो।

हालसम्म १० हजार पठाइयो

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस पटक हालसम्म १० हजार भेडाच्याङ्ग्रा स्वास्थ्य परीक्षण गरी पठाइएको छ। जिल्लाभित्रका पशुपालक कृषकले पाँच हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् भने छिमेकी जिल्ला डोल्पाबाट थप पाँच हजार मुस्ताङ हुँदै बाहिरिएका छन्।

मुस्ताङबाट पाँच हजार, डोल्पाबाट पाँच हजार र कोरला नाकाबाट तीन हजार गरी १३ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ।

कार्यालय प्रमुख डा. लालमणी अर्यालले प्राकृतिक विपत्तिका कारण उत्पादन भएका भेडाच्याङ्ग्रासमेत गोठबाट बिक्री गर्न समस्या भएको बताउनुभयो। “डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगतमा भन्दा कम भित्रिएको छ,” उहाँले भन्नुभयो, “मौसम अनुकूल भएमा तिहारलाई लक्षित गरी बिक्री गर्न सक्छन्।”

कृषकलाई असहज

सडक अवरुद्ध भएकाले जिल्लाबाहिरबाट भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारी आउन नसक्दा पनि बिक्रीमा असर परेको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ छोसेरका छिङ्मी गुरुङले च्याङ्ग्रा कृषकलाई यस पटक असहज भएको बताउनुभयो।

१९ वर्षदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरुङले चरन क्षेत्रमा गोठ बनाएर राखिएका च्याङ्ग्रा गोठालाको जिम्मा लगाएर बिक्री गर्न हिँडेको बताउनुभयो।

चरन क्षेत्रमा च्याङ्ग्रालाई हिउँचितुवा र ब्वाँसोले सताउने गरेको छ। तिनबाट जोगाएर हुर्काएका च्याङ्ग्रा बिक्री गर्न यस पटक सदरमुकाम जोमसोमसम्मै पुग्नुपर्ने अवस्था आएको कृषकको भनाइ छ।

गत वर्ष ३६ करोड आम्दानी

कठोर हावापानीमा हुर्किने र लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ। गत वर्ष भेडाच्याङ्ग्रा बेचेर ३६ करोड रुपैयाँ आम्दानी भएको कृषकले जनाएका छन्।