म्याग्दी (बेनी) । कालीगण्डकी नदीको बाढीले बगाएको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटामा चार दिनको निरन्तर प्रयासपछि नयाँ ट्र्याक खोलिएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले यहाँ करिब २५० मिटर सडक कटान गरेको थियो। चारवटा ठुला एक्साभेटर र टिपर परिचालन गरी दुवैतर्फबाट काम गरेपछि नयाँ ट्र्याक खोल्न सफल भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो।

ड्रोनबाट इन्धन, ज्यान जोखिममा राखेर काम

नदी कटानले क्षतिग्रस्त बनाएका सडकखण्डमध्ये कुनौटामा मार्ग खोल्नु सबैभन्दा चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ। बेनीदेखि सडक खुलाउँदै कुनौटासम्म पुगेपछि आयोजनाले दैनिक चारवटा ठुला एक्साभेटर र त्यति नै सङ्ख्यामा टिपर परिचालन गरेको थियो।

“बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको सडकखण्डमध्ये कुनौटामा सडक निर्माण गर्नु जोखिमपूर्ण र चुनौतीपूर्ण थियो,” आयोजना प्रमुख शर्माले भन्नुभयो, “बेगखोलातर्फ रहेका उपकरणमा इन्धन लैजानसमेत समस्या थियो। ड्रोनको सहयोगमा इन्धन पठाएपछि दुवैतर्फबाट चारवटा ठुला एक्साभेटरले चार दिनसम्म काम गरेपछि बल्ल सडकको नयाँ ट्र्याक खोल्न सम्भव भएको हो।”

उहाँका अनुसार डोजर चालकहरूले ज्यानको जोखिम मोलेर काम गरेका थिए।

पूर्ण सञ्चालनमा थप एक–दुई दिन

कुनौटामा बिहीबार बेलुकासम्म ठुला सवारीसाधन मात्रै आवतजावत गर्न सक्ने गरी सडक खुलाइएको छ। दुईतर्फबाट जोडिएको सडकमा फिलिङ गर्ने, लेभल मिलाउने तथा पूर्ण रूपमा सवारीसाधन सञ्चालनयोग्य बनाउन थप एक–दुई दिन लाग्ने शर्माले बताउनुभयो।

ट्र्याक खुलेसँगै पर्वतको मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगर पुलसम्म ठुला सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत गरिएको आयोजनाले जनाएको छ।

अन्य खण्डमा पनि धमाधम काम

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि बेगखोलासम्म एकतर्फी रूपमा सडक खुलाउने काम भइरहेको छ। कोरलादेखि जोमसोम हुँदै पोखरेबगर पुलसम्म भने पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइसकिएको छ।

पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने काम जारी छ। नयाँ मार्ग निर्माण गरिएका स्थानमा ग्रेड र घुम्ती मिलाउने, सडक फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम पनि भइरहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।

पोखरेबगरस्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणका लागि ग्याबियन पर्खाल लगाउने र पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम तीव्र रूपमा भइरहेको छ। दुई–तीन दिनभित्र पुलबाट सवारीसाधन आवतजावत गर्न मिल्ने गरी काम भइरहेको शर्माले बताउनुभयो।

सडक मर्मतसम्भार र नयाँ ट्र्याक खोल्न साधनस्रोत, उपकरण तथा जनशक्तिमा कुनै कमी हुन नदिई परिचालन गरिएको आयोजनाले जनाएको छ। आगामी सोमबारसम्म सडक सञ्चालनमा ल्याउने तयारीका साथ विभिन्न स्थानमा धमाधम काम भइरहेको छ।