रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षक पदमा कार्यरत खड्क बुढाले आफ्नी श्रीमतीलाई पठाउन भन्दै चालकमार्फत पठाएको ११ लाख ३५ हजार रुपैयाँ लुटपाट भएको भनिएको घटनामा चकित पार्ने खुलासा भएको छ।

खड्क बुढा सोही नगरपालिकाको वडा नम्बर १ फिलिङ्गेका बासिन्दा हुन्। पारिवारिक समस्याका कारण उनले उक्त रकम आफ्नै गाउँका २६ वर्षीय चालक मुकेश विकमार्फत पठाएका थिए।

गत मंगलबार साँझ करिब ७ बजे मुकेश विकले चलाएको बोलेरो जिपमार्फत रकम लिएर यात्रा सुरु भएको थियो। तर केही समयमै चालकले आफूलाई ४–५ जनाको समूहले बाटो छेकेर कुटपिट गर्दै रकम लुटेको दाबी गर्दै प्रहरीलाई जानकारी गराए।

उनको भनाइ अनुसार, जिप रोकिएको समयमा अज्ञात समूहले मोबाइल फोन र रकम लुटेर फरार भएको बताइएको थियो। तर प्रहरीलाई घटनाप्रति शङ्का लागेपछि चालक मुकेश विकमाथि नै सोधपुछ सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा मुकेश विक नै उक्त लुटपाटको मुख्य योजनाकार भएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार, उनले झारमारे क्षेत्रमा पुगेर योजनाबद्ध रूपमा साथीहरूसँग मिलेर लुटपाटको योजना बनाएका थिए। त्यसपछि तितेमिरे जङ्गलमा बाटो अवरुद्ध गरिएको र त्यही क्रममा अन्य व्यक्तिहरूले गाडीमा प्रवेश गरी रकम लिएर भागेको अनुसन्धानमा खुलेको छ।

लुटिएको भनिएको रकममध्ये करिब ११ लाख ३० हजार रुपैयाँ घटनास्थल नजिकैको जङ्गलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ भने चालक मुकेश विकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।