म्याग्दी। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढीपहिरोका कारण उत्पादन रोकिएको हो।
रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ। भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ।
बाँधका भौतिक संरचनामा क्षति भएको छ। आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ। कालीगण्डकीको बाढीपहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चुँडाएर क्षति पुर्याएको छ।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्