रहवा — सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिँदै गरेकी एक महिलाबाट एक किलो सुन बरामद गरेको छ। बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेल छिन्। उनलाई बुधबार राति करिब ८ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टबाट नियन्त्रणमा लिइएको हो।
सुराकीका आधारमा जाँच
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीको सात सदस्यीय टोलीले नाकामा जाँच गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा परिचालित टोलीले पटेललाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी नायब निरीक्षक लालबहादुर केसीको नेतृत्वमा तीन सदस्यीय टोली झिकाइयो। दुवै निकायले संयुक्त रूपमा गरेको खानतलासीमा उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना भेटिए।
२ किलो ६०५ ग्राममा एक किलो सुन
नायब उपरीक्षक भट्टराईका अनुसार बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम थियो। सुनचाँदी व्यवसायी संघ रुपन्देहीमा परीक्षण गर्दा त्यसमध्ये एक किलो सुन रहेको पुष्टि भएको हो।
के-के बरामद भयो?
बरामद सामानमा सयौँ थान गरगहना छन्। जसमा:
८१ औँठी र १४ गोली औँठी
९ हार र पत्थरसहितका २ हार
१३ चुरा र ८ ब्रेसलेट
२४ सिक्री र हसुली किसिमका ८ सिक्री
४ माला, १७ पोते र एक लकेट (जन्तर)
पत्थरसहितका २० झुम्का, २४ झुम्का र १० साना झुम्का
१८८ जोर बाली तथा जुली, ११ जोर कानबाली र पत्थरसहितका ६४ जोर टप
२२ नाकफूली
भन्सार कार्यालयमा हस्तान्तरण
सशस्त्र प्रहरीले पटेल र बरामद गरगहनालाई आवश्यक कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको छ। सुनको स्रोत, भन्सार प्रक्रिया र ओसारपसारको उद्देश्यबारे भन्सार कार्यालयले थप अनुसन्धान गर्नेछ।
भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाकामध्ये एक बेलहिया क्षेत्रमा पछिल्लो समय सुन लगायत बहुमूल्य वस्तुको अवैध ओसारपसार रोक्न सुरक्षा निकायले निगरानी कडा पारेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्