कञ्चनपुर । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।
बाँधमा जमेको सिल्ट सफाइ गर्ने उद्देश्यले असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।
बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
प्रशासनका अनुसार बाँधका ढोका बन्द गरिएपछि पनि केही समयसम्म महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहन्छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
बाँध खुला रहने अवधिमा महाकाली नदीमा नजान, नदी किनारमा नबस्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न प्रशासनले अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले नदीको अवस्था र प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्