काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए।

यसअघि एमालेभित्र भण्डारीको पार्टी सदस्यताका विषयमा विवाद देखिएको थियो। पूर्वराष्ट्रपति पदमा रहिसकेपछि सक्रिय राजनीतिमा फर्किने विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा सार्वजनिक भएका थिए।

जेनजी आन्दोलन र पछिल्लो आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै एमाले नेतृत्व भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णयमा पुगेको बताइएको छ।

एमालेको उक्त निर्णयलाई पार्टीभित्रको आगामी शक्ति सन्तुलन र राजनीतिक समीकरणसँग जोडेर पनि हेरिएको छ।