काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार ऋण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखा लगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी मोलमोलाइ गरेर रकम लिएको आरोप उनीमाथि लागेको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गर्दै २ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना मागदाबी गरेको जनाएको छ।

केही दिनअघि अख्तियारको टोलीले खाँचालाई २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।