काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक०माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।
गत वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले प्रस्तुत गरेको उक्त सिद्धान्त र प्राथमिकतामाथि सोमबारबाट छलफल सुरु भएको हो। छलफलमा सांसदहरूले जनताको अपेक्षाअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।
छलफलमा भाग लिँदै झविलाल डुम्रे ले विनियोजन विधेयक देशको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई नागरिकप्रतिको भरोसाका रूपमा अघि बढाउनुपर्ने बताए। उनले आफूहरू आश्वासन बेच्ने राजनीतिबाट अलग रहेको उल्लेख गर्दै भाषणले होइन कामले जवाफ दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै नेपाली कांग्रेसकी सांसद बासना थापा ले सिद्धान्त र प्राथमिकताको दस्तावेजलाई कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राखिन्। उनले संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाएर समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याइन्।
पुष्पराज कँडेल ले संविधानको तीनखम्बे अर्थनीति र समाजवादोन्मुख लक्ष्यलाई बजेटले समेट्न नसकेको टिप्पणी गरे। उनले आगामी बजेट पञ्चवर्षीय योजनासँग मेल खाने गरी आउनुपर्ने बताए।
त्यस्तै हर्क साम्पाङ ले जनताको समस्या समाधान गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले जनताले चुनेर पठाएका प्रतिनिधिको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए।
छलफलमा कर तिर्नका लागि पनि टाढाटाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासोलाई सम्बोधन गर्नुपर्ने विषयसमेत उठाइएको थियो।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफल जेठ ६ गते बुधबारसम्म जारी रहने र सोही दिन अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्