काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्तामध्ये ३७८ जनाले आफ्नो बचत रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीनवटा सहकारीका साना बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका हुन्।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको र आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः फिर्ता प्रक्रिया अघि बढाइने जनाएको छ।
समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेको समितिले जनाएको छ। पाँच लाख रुपैयाँभन्दा कम बचत भएकालाई साना बचतकर्ता र सोभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी बचत गरेको विवरण रहेको समितिले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रिया सहज बनाउन सहकारीहरूको ऋण असुली कार्यसमेत तीव्र बनाइएको जानकारी दिएकी छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्