राष्ट्रिय तथ्याङ्क कार्यालय ले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ।
थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म जारी रहने जानकारी दिनुभयो। उहाँका अनुसार देशभर खटिएका गणकहरूले हालसम्म आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण गरिसकेका छन्।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आर्थिक गणना सरकारका नीति तथा विकास योजनाका लागि महत्त्वपूर्ण आधार बन्ने बताउनुभयो। उहाँले प्रतिष्ठान, व्यवसाय, रोजगारी तथा आर्थिक गतिविधिको यथार्थ विवरण प्राप्त गर्न गणना प्रभावकारी हुने धारणा राखेका छन्।
उहाँका अनुसार आर्थिक गणनाबाट कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखासम्बन्धी अनुमानलाई समयानुकूल सुदृढ बनाउन, प्रतिष्ठानमा आधारित सर्वेक्षण सञ्चालन गर्न तथ्याङ्कीय ‘स्याम्पल फ्रेम’ तयार गर्न तथा सङ्घीय संरचनाअनुसार नीति निर्माण र मूल्याङ्कनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डा. पोख्रेलले सञ्चारमाध्यम, विशेषगरी रेडियो क्षेत्रलाई गणनाबारे जनचेतना फैलाउन सहयोग गर्न आग्रह गरेका छन्।
कार्यक्रममा सहभागी रेडियोकर्मीहरूले भने सरकारी विज्ञापन कटौती नगर्न सरकारसँग माग गरेका थिए। उनीहरूले सात प्रकारका कर तिर्नुपर्ने झन्झटिलो प्रक्रियाले रेडियो क्षेत्र समस्यामा परेको गुनासो गरेका छन्।
पत्रकार सम्मेलनमा सहभागी नेपाली रेडियो नेटवर्क का प्रबन्ध निर्देशक अमृत अधिकारी ले रेडियो अझै पनि आमजनताको लोकप्रिय र प्रभावकारी माध्यम रहेको बताउँदै यसको संरक्षणका लागि राज्यले लचिलो नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले कर छुट र विज्ञापन व्यवस्थापनमा सहजीकरण गरिए रेडियो क्षेत्रलाई टिकाइराख्न सहज हुने बताएका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्