काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्। प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ हुन्छ भनेर भने अहिले नै भन्न नसकिने उनको भनाइ छ।

राष्ट्रिय समाचार समिति (रासस) को प्रतिनिधिमण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीमा उनले निर्वाचनको मिति सरकारले तोक्ने बताए।

“हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै,” उनले भने, “निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।”

‘स्थानीय निकाय लामो समय खाली राख्नुहुन्न’

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्ने गरी सरकार अघि बढेको समाचार आएको बारेमा सोधिएको प्रश्नमा कार्कीले मितिबारे अहिले नै आयोगले बोल्ने कुरा नभएको बताए।

“हाम्रो संवैधानिक प्रावधानअनुरूप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो,” उनले भने, “तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ। त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ।”

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहने गरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनले बताए।

एकैसाथ चुनावबारे

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्ने गरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा उनले संवैधानिक संरचना र कानुनी प्रावधानअनुरूप नै निर्वाचन हुने जवाफ दिए।

“त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन,” कार्कीले भने, “सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।”

राससँग सहकार्य गर्न तयार

राससले विगतका निर्वाचनमा सकारात्मक एवं निर्वाचनमैत्री माहोल सिर्जना गर्न सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै कार्कीले आगामी दिनमा पनि राससँग सहकार्य गर्न आयोग तयार रहेको स्पष्ट पारे।

सो अवसरमा आयोग र रासबीचको सम्बन्ध, सहयोग र सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा र गुरुप्रसाद वाग्ले पनि उपस्थित थिए।