इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५५ रनले पराजित गरेको छ। लिग चरणको अन्तिम खेलमा हार बेहोरे पनि बैंगलोर तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँग पहिलो क्वालिफायर खेल खेल्ने भएको हो।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५५ रन बनाएको थियो।

२५६ रनको कठिन लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो। बैंगलोरका कप्तान रजत पाटीदारले सर्वाधिक ५६ रन बनाए। उनले ३९ बलमा ६ चौका र एक छक्का प्रहार गरे।

ओपनर विराट कोहलीले १५ रन बनाउँदा बेंकटेश अय्यरले ४४ रनको योगदान दिए। देवदत्त पडिक्कलले २१ रन जोडे भने कर्णाल पाण्ड्या ४१ रनमा अविजित रहे। टिम डेभिडले १५ रन बनाए।

हैदराबादका लागि बलिङमा इशान मलिङ्गाले २ विकेट लिए भने सकिब हुसेन र ट्राभिस हेडले समान १–१ विकेट लिए।

यसअघि, हैदराबादको इनिङ्समा इशान किशनले ४६ बलमा ७९ रनको विस्फोटक पारी खेले। उनले ८ चौका र ३ छक्का प्रहार गरे। तेस्रो विकेटका लागि उनले हेनरिख क्लासेनसँग ११३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई विशाल योगफलतर्फ अघि बढाएका थिए।

ओपनर अभिषेक शर्माले ५६ रन बनाउँदा ट्राभिस हेडले २६ रन जोडे। क्लासेनले ५१ रनको अर्धशतकीय पारी खेले भने नितिश कुमार रेड्डी २९ रनमा अविजित रहे।

बैंगलोरका लागि रसिक सलामले २ विकेट लिए भने सुयस शर्मा र कर्णाल पाण्ड्याले समान १–१ विकेट लिए।

यससँगै पहिलो क्वालिफायर खेल्ने दुई टोलीको टुंगो लागेको छ। बैंगलोर र गुजरातबीच मे २६ मा धर्मशालामा पहिलो क्वालिफायर खेल हुनेछ।

यता, शानदार जित निकालेको हैदराबाद तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको छ। हैदराबादले मे २७ मा हुने एलिमिनेटरमा शीर्ष चारभित्र पर्ने अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ।