डीएसपीबाट कुटिएका वडा अध्यक्ष विकलाई भेट्न अस्पताल पुगे सांसद गोपाल शर्मा

रुकुम पश्चिमका सांसद गोपाल शर्मा अनलले प्रहरी हिरासतमा कुटपिटबाट घाइते भएका आठबिसकोट नगरपालिका–३ का वडा अध्यक्ष केशरमान विकलाई अस्पतालमै पुगेर भेटेका छन्। सांसद शर्माले विकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनाबारे समेत जानकारी लिएका हुन्।

वडा अध्यक्ष विकले आफूलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदबहादुर पौडेलले नियन्त्रणमा लिएर अपशब्द प्रयोग गर्दै कुटपिट गरेको आरोप लगाएका छन्। उनका अनुसार डीएसपीले गाली गर्दै बुटले आँखामा र ढाडमा प्रहार गरेका थिए। अन्य प्रहरीले समेत आफूलाई नियन्त्रणमा लिएको विकको भनाइ छ

विकका अनुसार उनलाई नियन्त्रणमा लिएपछि पछाडि हात बाँधेर हतकडी लगाइएको थियो। कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेको उनले बताएका छन्।

घटनामा प्रहरी नेतृत्वसमेत संलग्न रहेको आरोपबारे सांसद शर्माले प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासँग निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न मागसहित छलफल गरेका छन्। डीआईजी सापकोटाले घटनाको छानबिनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छन्।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि अस्पताल पुगेर घाइते वडा अध्यक्ष विकको स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिएको छ। प्रहरी कार्यालय ले भने आफ्नो गल्ती न भएको जनाएको।