रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गुडिरहेको मोटरसाइकलमा एक्कासि आगलागी हुँदा चालक घाइते भएका छन्। आगलागीबाट मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ भने चालकको दुवै हात र खुट्टा पोलिएको छ। घाइते चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज बिहान आठबिसकोट नगरपालिका–१४ स्थित फर्साचौर नजिकै भित्रि सडकखण्डमा मोटरसाइकलमा आगलागी भएको हो। क.प्र. ०२०० ब. ००८० नम्बरको उक्त मोटरसाइकल आठबिसकोट नगरपालिकामा कार्यरत नगर प्रहरी जवान राजेन्द्र विकले चलाइरहेका थिए।
प्रहरीका अनुसार नगर प्रहरी जवान विक राडी जिउलाबाट छेपारेतर्फ जाँदै थिए। फर्साचौर नजिकैको सडकखण्डमा उकालो चढ्ने क्रममा मोटरसाइकल एक्कासि तातिएपछि आगलागी भएको प्रारम्भिक विवरण छ।
अचानक मोटरसाइकलमा आगो लागेपछि चालक विकका दुवै हात र खुट्टामा पोल्ने चोट लागेको हो। घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ। यद्यपि, चालकको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट क्षति पुगेको मोटरसाइकल घटनास्थलमै रहेको छ। आगलागीको कारण र घटनासँग सम्बन्धित अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्