काठमाडौं । नेपाली चलचित्र क्षेत्रका निर्देशकहरू यतिबेला चलचित्र निर्देशक समाजको १८औँ महाधिवेशनलाई लिएर चुनावी उत्साहमा छन्। मंगलबार (५ जेठ) मा हुने महाधिवेशनका लागि नेतृत्व चयन गर्ने तयारीसँगै संस्थाभित्र राजनीतिक सरगर्मी तीव्र बनेको छ।

वर्तमान अध्यक्ष जनकदीप पराजुली नेतृत्वको कार्यसमितिले महाधिवेशनको मिति तय गरेसँगै चुनावी गतिविधि अझ बढेको हो। बिहानदेखि साँझसम्म आकांक्षीहरू लबिङ, भेटघाट र रणनीति निर्माणमा व्यस्त देखिएका छन्। केही उम्मेदवारले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही आन्तरिक परामर्शमा छन्।

महाधिवेशन नजिकिँदै जाँदा विभिन्न स्थानमा चियापान तथा छलफल कार्यक्रममार्फत समर्थन जुटाउने प्रयास पनि तीव्र बनेको छ। यसपटक संस्थामा पुराना अनुभवी र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ।

अध्यक्ष पदका लागि हालसम्म पाँच जना प्रमुख दाबेदार मैदानमा देखिएका छन्। जसमा पूर्वअध्यक्ष तथा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, वर्तमान अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुण प्रधान, निर्देशक राजु गिरी र जनक खकुरेल रहेका छन्।

सुचित्रा श्रेष्ठ पुनः नेतृत्वमा फर्कने तयारीमा रहेकी छिन् भने वर्तमान अध्यक्ष पराजुली एक कार्यकाल दोहोर्‍याउने कसरतमा छन्। महासचिव प्रधान भने संस्थाको नेतृत्व नयाँ सोचका साथ अघि बढाउनुपर्ने पक्षमा छन्।

पराजुली, गिरी र खकुरेलले भने हालसम्म प्यानल घोषणा गरेका छैनन्। तर अरुण प्रधानले भने आफ्नो प्यानलसहित आक्रामक लबिङ सुरु गरेका छन्।

महाधिवेशनलाई व्यवस्थित बनाउन समाजले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। निर्वाचन समितिको नेतृत्व चलचित्र निर्माता प्रदीप कुमार उदयले गरेका छन्। कुल २८३ मतदाता रहेको निर्वाचन काठमाडौँको धुम्बाराहीस्थित ‘स्मार्ट दरबार’ पार्टी प्यालेसमा हुने बताइएको छ।

यस निर्वाचनले चलचित्र निर्देशक समाजको आगामी नेतृत्व कस्तो हुनेछ भन्ने विषयमा सम्पूर्ण चलचित्रकर्मीहरूको ध्यान केन्द्रित भएको छ।