प्रधानमन्त्री शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्री शाह आज दुईदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका बेला रास्वपाले भ्रमण सफलताको शुभकामना दिँदै यस्तो अपेक्षा सार्वजनिक गरेको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा भ्रमणले दुई देशबीच लामो समयदेखि कायम ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।’
भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ।
भारत भ्रमणका विषयमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ।
सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेको रास्वपाले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्