भारत भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन, विगतका १२ अभ्यासमा गरे क्रमभंग
प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेको आठ महिनापछि पहिलो राजकीय भ्रमणमा भारत पुगेका शाहले यस क्रममा विगतका प्रधानमन्त्रीहरूले अपनाउँदै आएका विभिन्न १२ वटा अभ्यास तोडेका छन्।
सामान्यतया प्रधानमन्त्रीको विदेश भ्रमणअघि संसद्लाई जानकारी गराउने, पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गर्ने, राष्ट्रपतिलाई भ्रमणबारे ब्रिफिङ गर्ने तथा परराष्ट्र मामिलाका जानकारसँग सुझाव लिने परम्परा रहँदै आएको थियो। तर शाहले यीमध्ये कुनै पनि अभ्यासलाई निरन्तरता नदिएको विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि संसद् बैठकसमेत नबोलाइएको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले संसद् बैठक तत्काल बोलाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्दै आए पनि बैठक आह्वान हुन सकेन।
सत्तारुढ रास्वपाभित्रै सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि रहेको र संसद् बैठक बसेमा सुनकोसी–मरिन डाइभर्सनको ठेक्का रद्द, प्रहरीद्वारा न्युजरुममै प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा इनाम प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारको नाम जोडिएको विषय उठ्न सक्ने भएकाले बैठक नबोलाइएको हुन सक्ने रास्वपाकै एक पदाधिकारीको भनाइ छ।
यसैबीच, रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीसहित महामन्त्री विपिन आचार्यलगायत २० सदस्यीय टोली चीन भ्रमणमा गएको छ। पार्टीका अर्का पदाधिकारीका अनुसार अब संसद् बैठक मंसिरको दोस्रो वा तेस्रो सातातिर मात्र बस्ने सम्भावना छ।
विदेश भ्रमणका परम्परागत अभ्यासमा नयाँ शैली
प्रधानमन्त्री शाहले तोडेका १२ अभ्यासमध्ये भ्रमणको तयारी, सुरक्षा व्यवस्था, भ्रमण टोलीको आकार र औपचारिक कार्यक्रमसमेत समेटिएका छन्।
पहिलो, भारत भ्रमणबारे संसद्मा जानकारी गराउने परम्परालाई उनले निरन्तरता दिएनन्। दोस्रो, पूर्वप्रधानमन्त्रीहरूसँग भेटेर सुझाव लिएनन्। तेस्रो, प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण भारत नभई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गरे। चौथो, भारत भ्रमणबारे राष्ट्रपतिलाई औपचारिक ब्रिफिङ गरेनन्। पाँचौँ, परराष्ट्र मामिलाका जानकार तथा विज्ञहरूसँग परामर्श गरेनन्।
त्यस्तै, छैटौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाबाट बिदाइ सलामी लिने कार्यक्रम राखिएको छैन। यद्यपि भारतमा भने उनले गार्ड अफ अनर ग्रहण गर्नेछन्। भ्रमणअघि राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्बन्धित मुलुकमा पुगेर सुरक्षा अवस्थाबारे अध्ययन गर्ने पुरानो अभ्याससमेत यसपटक सक्रिय रूपमा अघि नबढाइएको विवरण छ।
सातौँ, प्रधानमन्त्रीकी पत्नी सबिना काफ्ले भ्रमण टोलीमा सहभागी छैनन्। यसअघिका प्रधानमन्त्रीहरूले भारतको राजकीय भ्रमणमा श्रीमतीलाई समेत साथमा लैजाने गरेका थिए।
आठौँ, शाहको भ्रमण टोली विगतका प्रधानमन्त्रीहरूको तुलनामा निकै सानो छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण दलमा ३४ सदस्य रहनेछन्। यसअघि भारत भ्रमणमा जाने प्रधानमन्त्रीहरूको टोलीमा कम्तीमा ४७ सदस्य रहने गरेको थियो। यसपटक प्रधानमन्त्रीसँग अर्थ र परराष्ट्रमन्त्री मात्र सहभागी हुने कार्यक्रम छ।
नवौँ, नेपाल र भारतका प्रमुख व्यावसायिक नेतृत्वबीच हुने संयुक्त बिजनेस राउन्ड टेबलमा प्रधानमन्त्री शाह सहभागी हुने छैनन्। उक्त कार्यक्रमको नेतृत्व अर्थमन्त्री स्वर्णिम वाग्लेले गर्नेछन्।
दशौँ, भारतमा बसाइको अवधि पनि छोट्याइएको छ। विगतका प्रधानमन्त्रीहरूले तीनदेखि छ दिनसम्म भ्रमण गर्ने गरेकामा शाहको भारत बसाइ एक रातमा सीमित रहनेछ।
एघारौँ, भारतको राजकीय भ्रमणमा नेपाली प्रधानमन्त्रीका लागि हैदरावाद हाउसमा बसोबासको व्यवस्था गर्ने परम्पराभन्दा फरक यसपटक शाह दिल्लीस्थित होटलमा बस्ने कार्यक्रम छ।
बाह्रौँ, प्रधानमन्त्री बनेलगत्तै छिमेकी मुलुक भारतको भ्रमण गर्ने अभ्यासलाई पनि उनले तोडेका छन्। २०८२ चैत १३ गते प्रधानमन्त्रीको पदभार सम्हालेका शाहले करिब आठ महिनापछि मात्र भारतको राजकीय भ्रमण गरेका हुन्। यसअघिका प्रधानमन्त्रीहरूले पदभार सम्हालेको बढीमा चार महिनाभित्र भारत भ्रमण गर्ने गरेको विवरण छ।
यसरी प्रधानमन्त्री शाहको भारत भ्रमण केवल कूटनीतिक भेटघाटमा मात्र सीमित नभई विगतदेखि चल्दै आएका सरकारी तथा कूटनीतिक अभ्यासमा नयाँ शैली अपनाएको भ्रमणका रूपमा समेत चर्चामा आएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्