आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना
नेपाल प्रहरीले तल्लो तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासा तथा कार्यस्थलमा भोग्नुपरेका कठिनाइलाई सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गर्दै उक्त डेस्क सञ्चालनमा ल्याएको हो। डेस्कमार्फत आधारभूत तहका प्रहरी कर्मचारीका पेसागत तथा सेवासम्बन्धी समस्याको निष्पक्ष सुनुवाइ र उचित समाधान गर्ने लक्ष्य राखिएको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै गुनासो दर्ता प्रक्रियासमेत सुरु गरेका छन्। उनले सियुजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुगल फर्ममार्फत गुनासो दर्ता गर्ने लिंक पठाएका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ व्यवस्थाले आधारभूत तहका प्रहरी कर्मचारीले भोग्दै आएका समस्या, असमान व्यवहार, विभेद तथा सेवासुविधासम्बन्धी कठिनाइलाई संस्थागत रूपमा सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डेस्क उद्घाटनपछि प्रहरी महानिरीक्षक केसीले कर्मचारीका गुनासा निष्पक्ष रूपमा सुन्न र प्राप्त समस्याको समयमै उचित समाधान गर्न डेस्कमा खटिएका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
यस व्यवस्थाको मुख्य उद्देश्य प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्