पोखरा। शुक्रबार बिहान करिब ९ बजे पोखरा महानगरपालिका–२८, शान्ति मैदानका प्रकाश खड्काले ठूलो आवाज सुने। सुरुमा उनलाई टिपर खसेको होला भन्ने लाग्यो। तर नजिकैको पसलमा रहेकी एक महिलाले त्यो समय स्कुलको गाडी आउने बेला भएको सम्झाइन्।

त्यसपछि खड्का र केही स्थानीय दौडिँदै घटनास्थलतर्फ लागे।

के भएको थियो?

माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्ले भिरमा सडकबाट करिब २०० मिटर तल खसेको थियो।

खड्का त्यही स्कुलका पूर्वशिक्षक हुन्। उनले त्यहाँ करिब एक वर्ष पढाएका थिए र दुर्घटनामा परेका केही विद्यार्थी उनकै पुराना विद्यार्थी थिए।

'कोही जिउँदो छैन कि जस्तो लाग्यो'

घटनास्थल पुग्दा बसका सिट छरिएका थिए। बसको अवस्था देखेर सुरुमा कोही पनि बाँचेको छैन कि भन्ने डर लागेको खड्का बताउँछन्। केहीबेरमा उनले केही बालबालिका चलिरहेको देखे र अप्ठ्यारो बाटो घुमेर तल ओर्लिए।

सुरुमा त्यहाँ उनीसहित दुई जना मात्र पुगेका थिए। उनले विद्यालय, प्रहरी र उद्धार टोलीलाई खबर गर्न लगाए।

कुनै विद्यार्थीले पानी मागे, कसैले खुट्टा चलाउन नसकेको बताए। केही बालबालिका दुर्घटना भएकै कुरा पत्याउन सकिरहेका थिएनन्। तीमध्ये एकले उनलाई सोधे, 'सर, यो सपना हो कि विपना हो?'

खड्का र अर्का एक स्थानीयले छरिएका सिट जम्मा गरेर घाइते बालबालिकालाई त्यसमाथि राखे। जथाभावी चलाउँदा थप चोट लाग्न सक्ने भएकाले गम्भीर देखिएकालाई उनले जबर्जस्ती उठाएनन्। बालबालिकालाई नआत्तिन उनी सम्झाइरहे।

चालकले के भने?

बस चालक अर्जुन शाही नजिकैको खोल्सामा अड्किएका थिए। खड्काका अनुसार चालकले अचानक अँध्यारो भएजस्तो लागेको र केही नदेखेको बताएका थिए।