काठमाडौं। विपद्मा परेर बेपत्ता भएका व्यक्तिलाई अब सरकारले एकैचोटि मृत घोषणा गर्न सक्ने भएको छ। यसका लागि 'विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' जारी भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अध्यादेश जारी गरेका हुन्। मन्त्रिपरिषद्ले भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएकाहरूको मृत्युदर्ता सहज बनाउन यो अध्यादेश ल्याएको हो।
मृत घोषणा कसरी हुन्छ?
१. बेपत्ता व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय तहले सिफारिस गर्छ।
२. जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले निर्णय गरेर प्राधिकरणमा पठाउँछ।
३. प्राधिकरणले बेपत्ताको सूची राष्ट्रियस्तरको पत्रिकामा छाप्छ।
४. कोही जीवित भए वा फेला परे उसले वा एकाघरको परिवारले सात दिनभित्र दाबी गर्न पाउँछ।
५. दाबी नपरे गृहमन्त्रीको अध्यक्षताको कार्यकारी समितिले सरकारलाई सिफारिस गर्छ।
६. सरकारले मृत्युको घोषणा गर्छ।
उदाहरणका लागि, रसुवाको उत्तरगया गाउँपालिकाले आफ्नो क्षेत्रका बेपत्ताको सूची यही प्रक्रियाबाट सिंहदरबारस्थित प्राधिकरणमा पठाउनुपर्छ।
यसरी मृत घोषणा भएका व्यक्तिका लागि अदालतबाट छुट्टै न्यायिक घोषणा गराइरहनु पर्दैन।
कार्यकारी समितिमा को हुन्छन्?
समितिको अध्यक्ष गृहमन्त्री हुन्छन्। पूर्वाधार मन्त्री र संघीय मामिला मन्त्री सदस्य रहन्छन्। सबै मन्त्रालयका सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्र बैंकका कार्यकारी निर्देशक र दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायत पनि सदस्य हुन्छन्।
मृत घोषित व्यक्ति फर्किए के हुन्छ?
घोषणा बदर गर्न सो व्यक्ति वा परिवारले निवेदन दिनुपर्छ।
परिवारले पाएको राहत वा क्षतिपूर्ति सरकारले फिर्ता लिँदैन।
घोषणापछि पत्नीले अर्को विवाह गरिसकेकी भए पुरानो वैवाहिक सम्बन्ध फेरि कायम हुँदैन।
मृत्युदर्तामा के फेरियो?
अध्यादेशले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन पनि संशोधन गरेको छ।
सूचना कसले दिने: अहिलेको कानुनमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले, र उनीहरू नभए परिवारको १८ वर्ष पुगेको सदस्यले सूचना दिनुपर्छ। अब सूचना दिने माथवर वा संरक्षक कोही नभए वडा अध्यक्ष वा स्थानीय तहका प्रमुखले पनि दिन सक्छन्।
शुल्क: विपद्मा मृत्यु भएका वा मृत घोषणा भएका व्यक्तिको मृत्युदर्तामा दर्ता शुल्क र विलम्ब शुल्क लाग्दैन।
कहाँ दिने: स्थायी ठेगाना वा अस्थायी बसोबास भएको स्थानीय तहमा। सूचना दिनेले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्