पोखरा । पोखरा महानगरपालिका–२८ माझठानाबाट शुक्रबार बिहान विद्यार्थी बोकेर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महानगरपालिकाले समिति गठन गरेको छ।

महानगर प्रमुख धनराज आचार्यले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरेको जानकारी दिए।

शुक्रबार बिहान पोखरा–२८ को ओख्लेमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा विद्यार्थी, चालक तथा स्थानीयसहित २२ जना सवार रहेको महानगर प्रमुख आचार्यले जनाएका छन्। दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ।

महानगरले गठन गरेको समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी छन्। समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन्।