काठमाडौं। चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले तीन सामाजिक उद्यममा ५५ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। यी उद्यमले सामाजिक र वातावरणीय क्षेत्रमा काम गर्दै आएका छन्।
एनएसबीको चौथो चरणको 'सोसल इम्प्याक्ट फन्डिङ इनिसिएटिभ' अन्तर्गत यी उद्यम छानिएका हुन्।
कसले कति पाउँछ?
उद्यमलगानीकामग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालि२५ लाखप्लास्टिक र सिसाको फोहोरबाट निर्माण सामग्री र वैकल्पिक इन्धनप्रवाह नेपाल प्रालि१५ लाखराइडरको आम्दानी अभिलेख गर्ने प्रणाली र विद्युतीय बाइक भाडास्याहार प्रोडक्ट्स१५ लाखवातावरणमैत्री सरसफाइ र सौन्दर्य सामग्री
यी उद्यमले के गर्छन्?
ग्रीन रोड ले पुनःप्रयोग गर्न गाह्रो हुने प्लास्टिक र सिसाजन्य फोहोरलाई सडक निर्माण सामग्री, इँटा र कम्प्रेस्ड बोर्डमा बदल्छ। यसले सिमेन्ट उद्योगमा प्रयोग हुने वैकल्पिक इन्धन पनि बनाउँछ।
प्रवाह नेपाल ले राइडरको आम्दानी पारदर्शी रूपमा अभिलेख र अनुगमन गर्न मिल्ने प्रणाली चलाउँछ। यसले विद्युतीय बाइक भाडामा दिने सेवा पनि दिन्छ।
स्याहार प्रोडक्ट्स ले वातावरणमैत्री सरसफाइ र सौन्दर्य सामग्री उत्पादन गर्छ।
कसरी छानियो?
लगानी प्रस्तुतीकरण कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीले आफ्नो व्यावसायिक योजना, सामाजिक प्रभाव र विस्तारको सम्भावना प्रस्तुत गरेका थिए। व्यवसायका रूपमा टिक्न सक्ने र समाज तथा वातावरणमा योगदान दिन सक्ने उद्यमलाई प्राथमिकता दिइएको एनएसबीले जनाएको छ।
कस्तो लगानी हो यो?
एनएसबीले सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। यसमा ब्याजदर कम हुन्छ, धितो राख्नु पर्दैन र भुक्तानी अवधि लचिलो हुन्छ।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीका अनुसार रकम उपलब्ध गराउनु सुरुवात मात्र हो। वास्तविक उद्देश्य नाप्न सकिने र लामो समय टिक्ने प्रभाव सिर्जना गर्नु रहेको उनले बताए।
एनएसबीबारे
सन् २०१४ मा स्थापना भएको एनएसबीले हालसम्म २० भन्दा बढी उद्यमलाई सहयोग गरिसकेको जनाएको छ। यसले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनसँगको साझेदारीमा काम गर्छ। सिद्धार्थ बैंक यसको बैंकिङ साझेदार हो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्