काठमाडौँ । ओजेम्पिक र वेगोभीजस्ता औषधिहरू विश्वभर तौल घटाउन र मधुमेह नियन्त्रण गर्न प्रयोग भइरहेका छन्। अहिले यी औषधिले क्यान्सर बिरामीका लागि पनि फाइदाजनक हुन सक्ने नयाँ संकेतहरू देखिन थालेका छन्।

हालै सार्वजनिक भएका केही अनुसन्धानले जीएलपी–१ रिसेप्टर एगोनिस्ट समूहका यी औषधिले क्यान्सर बिरामीको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सक्ने देखाएका छन्। वैज्ञानिकहरूका अनुसार यी औषधि मोटोपना र मधुमेह नियन्त्रणमा मात्र सीमित नरही शरीरको समग्र स्वास्थ्यमा असर पार्न सक्षम देखिएका छन्।

क्यान्सर जोखिम कम हुन सक्ने संकेत

अध्ययनहरूमा यस्ता औषधि सेवन गरिरहेका बिरामीहरूमा क्यान्सरसँग सम्बन्धित नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यी औषधि प्रयोग गर्ने व्यक्तिहरूमा क्यान्सरको जोखिम कम देखिएको छ भने बाँच्ने सम्भावना पनि बढेको पाइएको छ।

विशेषज्ञहरूका अनुसार मोटोपना स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर र प्यान्क्रियाटिक क्यान्सरजस्ता रोगको प्रमुख जोखिम कारक हो। यी औषधिले शरीरको तौल र अतिरिक्त बोसो घटाउँदा शरीरभित्रको इन्फ्लामेशन अर्थात् सुन्निएको कम हुन्छ, जसले क्यान्सर कोषिकाको वृद्धि रोक्न मद्दत गर्न सक्ने विश्वास गरिएको छ।

शरीरलाई विभिन्न रूपमा सहयोग

विशेषज्ञहरूका अनुसार क्यान्सरसँग संघर्ष गरिरहेका बिरामीको शरीर पहिले नै कमजोर अवस्थामा हुन्छ। त्यसमाथि मोटोपना वा मधुमेह भए उपचार झन् जटिल बन्न सक्छ।

यस्ता औषधिले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने भएकाले क्यान्सर कोषिकालाई आवश्यक ग्लुकोज कम उपलब्ध हुन सक्छ। साथै, तौल घट्दा प्रतिरक्षा प्रणाली बलियो बन्ने र शरीरको समग्र स्वास्थ्य सुधार हुने बताइएको छ।

मुख्य उपचार होइन

चिकित्सकहरूले भने यी औषधिलाई क्यान्सरको मुख्य उपचारको विकल्पका रूपमा लिन नहुने स्पष्ट पारेका छन्। क्यान्सर उपचारका लागि अझै पनि किमोथेरापी, रेडिएसन र शल्यक्रिया आवश्यक नै रहनेछ।

तर, यी औषधिले उपचारको प्रभावकारिता बढाउन र बिरामीको स्वास्थ्य सुधार्न सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

चिकित्सकीय सल्लाह आवश्यक

यसअघि भएका अनुसन्धानहरूले पनि यस्ता औषधिले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्न मद्दत गर्ने देखाएका थिए। अहिले क्यान्सरसँग सम्बन्धित नयाँ अध्ययन सार्वजनिक भएपछि चिकित्सकहरू थप आशावादी बनेका छन्।

यद्यपि, विशेषज्ञहरूले चिकित्सकीय सल्लाहबिना यस्ता औषधि प्रयोग नगर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार औषधिको प्रयोग सधैँ स्वास्थ्यकर्मीको निगरानीमा मात्र गर्नुपर्छ।