भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङ ले ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेर निर्माण गरिएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको साँचो हस्तान्तरण गरेका छन्।
बुढानीलकण्ठमा निर्माण गरिएको उक्त अस्पतालको साँचो किओचका अध्यक्ष डा. भगवान कोइराला लाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा अध्यक्ष गुरुङले आजीवन समाजसेवा गर्ने आफ्नो सङ्कल्प यस परियोजनामार्फत थप सार्थक बनेको बताए। उनले स्वास्थ्य सेवा नागरिकका लागि सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्दै बाल स्वास्थ्यको संरक्षण र विकासलाई राष्ट्रको उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गरिएको बताउँदै उनले भविष्यमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले भारतमा ताजमहल बनेजस्तै नेपालमा बाल अस्पताल निर्माण हुनु गौरवको विषय भएको टिप्पणी गरिन्।
अस्पतालको उद्घाटन श्री श्री जगतगुरु शंकराचार्य ले गरेका थिए।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्